राष्ट्रिय शक्ति नेपालको क्षेत्रिय कार्यालय बुटवलमा स्थापना

असोज–३,फरक न्युज ।

राष्ट्रिय शक्ति नेपालको क्षेत्रिय कार्यालय बुटवलमा स्थापना भएको छ । राष्ट्रिय शक्ति नेपालका केन्द्रिय अभियन्ता कृष्ण बहादुर लामाले आइतवार एक कार्यक्रममा बीच कार्यालयको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका लामाले राजा सहितको हिन्दु राष्ट्रको विकल्प नभएको तर्क गर्नुभयो । उहाँले राष्ट्रिय शक्ति नेपालको स्थापना चुनावमा लडेर मन्त्री,प्रधानमन्त्री बन्नका लागी नभई छरिएर रहेका राष्ट्रवादी,देशभक्ति,राष्ट्रप्रेमी,राजावादीहरु एक ढिक्का हुनु भएको बताउनुभयो । लामाले राजनीतिक दलका नेताहरु अवसरवादी,पदलिप्सा भएका कारण देश र नेपाली जनताले अनेकौं समस्या झेल्न परेको दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै लामाले एमसीसी राष्ट्रको हितमा नभएको बताउनुभयो । उहाँले कमल थापा,गगन थापा अमेरिकाको विश्वासिलो पात्र भएको आरोप लगाउनुभयो । लामाले राष्ट्रिय शक्ति नेपाल परम्परागत शक्ति भएकोले अहिलेको संविधान नमान्ने भन्दै संविधान दिवसलाई कालो दिनको रुपमा लिने बताउनुभयो । उहाँले राष्ट्रवादी शक्तिहरु एकजुट भएर अहिलेको संविधान च्यातेर राजासहितको हिन्दु राष्ट्र निर्माण गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा केन्द्रिय अभियन्ता चोप ब थापा,ज्ञानुराम भारती पूर्ण बहादुर बोहरा,लक्ष्मण थापा,बाजीद अली दिवान,कमल ध्वज मल्ल,पुनराम पोखरेल,रमेश खनाल,गोपाल शर्मा लगायतका राष्ट्रवादी,देशप्रेमी अभियन्ताहरुको सहभागी रहेको थियो ।

कार्यक्रम राष्ट्रिय शक्ति नेपालका जनजाति विभाग प्रमुख तथा पूर्व मेयर रुपसिंह थापाको अध्यक्षता,राष्ट्रिय शक्ति नेपालका धार्मिक विभाग प्रमुख धर्मगुरु गुणानीधि पन्तको स्वागत मन्तव्य र राष्ट्रिय शक्ति नेपालका क्षेत्रिय प्रतिनिधि लाल बहादुर थापाको कार्यक्रम संचालनमा सम्पन्न भएको थियो ।

Related posts