प्रतिमान निमा स्मृति प्रतिष्ठानद्धारा लुम्बिनी प्रदेश सरकारलाई २ करोड बराबरको स्वास्थ्य सामाग्री प्रदान

असोज–४,फरक न्युज ।

प्रतिमान निमा स्मृति प्रतिष्ठानले लुम्बिनी प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । प्रतिष्ठानले प्रोजेक्ट होप अमेरिकाको सहयोगमा सातै प्रदेशमा स्वास्थ्य सामाग्री बितरण गर्ने क्रममा सोमवार बुटवलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी मार्फत प्रदेश सरकारलाई २ करोड बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकार सम्पूर्ण नागरिकलाई खोपको व्यवस्था गर्ने अभियान लागेको बताउनुभयो । उहाँले विकास निर्माणका बजेट कटौति गरेर भएपनि जनताको जीवन रक्षाको लागी पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिने बताउनुभयो । मुख्यमन्त्री केसीले १८ वर्ष भन्दा मुनिका उमेर समूह उच्च जोखिममा रहेको बताउदै प्रदेश सरकार उनीहरुको जीवन रक्षाका लागी पूर्व तयारीमा लागेको जानकारी दिनुभयो । केसीले प्रतिमान निमा स्मृति प्रतिष्ठानले गरेको कार्यको प्रसंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका उपाध्यक्ष दीपक बोहराले सबै प्रदेशलाई स्वास्थ्य सामाग्री प्रदान गरेको स्मरण गर्दै लुम्बिनी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले प्रदेशको आवश्यकतालाई ध्यानमा राखेर सहयोग गर्ने जानकारी दिनुभयो । बोहराले भैरहवाको भीम अस्पताललाई तत्काल भेन्टिलेटर उपलब्ध गराउने बताउनुभयो ।

त्यस्तै प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले शिक्षा, वातावरण, स्वास्थ्य तथा अनुसन्धानमा काम गर्दै आएको संस्थाले स्वास्थ्य केन्द्रहरुको आवश्यकतालाई मध्यनजर गर्दै सामग्री प्रदान गरिएको जानकारी दिनुभयो ।

प्रतिष्ठानले लुुम्बिनी प्रदेश सरकारलाई गाउन आइसोलेशन ३ हजार ३ सय २० थान, फेस शिल्ड २ हजार १ सय ९० थान, मास्क १४ हजार थान, एननाइटी फाइभ मास्क ३ हजार थान, डिजिटल थर्मोमिटर ३२ थान, प्रोटेक्टिभ फेस शिल्ड ३ हजार १ सय ५० थान, पीपीई ९मिडियम० १२० थान, पीपीई ९लार्ज०, ४६० थान, इमरजेन्सी रिलिफ बेड ६ थान, ग्लोब्स १ लाख ६६ हजार थान, के एन नाइटी फाइभ प्रोटेक्टिभ मास्क १५ हजार ४ सय थान वितरण गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले बताउनुभयो ।

Related posts